हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न, ३४ सदस्यीय अभियन्ता समूह गठन

समाचार

सप्तरी । हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। भेलाले शैशव राजुको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।

२०८३ कात्तिक १७ गते सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला अभियन्ता समूह गठन गरेको हो।

भेलालाई सम्बोधन गर्दै हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले विगत ७५ वर्षको राजनीतिक अभ्यासमा जनताको सामूहिक पहिचान र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित प्रभावकारी पार्टी निर्माण हुन नसकेको बताए।

उनले राजनीतिक दलहरूले आवश्यक विचार र सिद्धान्त अवलम्बन गर्न नसकेको, पार्टी व्यवस्थापन तथा सदस्यहरूको जीवनयापनका लागि आर्थिक योजना बनाउन नसकेको र धर्म, राजनीति तथा दर्शनबीचको अन्तरसम्बन्ध स्पष्ट पार्न नसकेको टिप्पणी गरे।

त्यस्तै, राजनीतिक दलहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सञ्चालन हुन नसकेको तथा नेतृत्वमा लामो समयसम्म एउटै व्यक्ति रहिरहने प्रवृत्ति कायम रहेको उनको भनाइ थियो। यस्ता कमजोरीलाई सम्बोधन गर्दै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको प्रत्याभूति गर्ने उद्देश्यले हुंकार मधेश गठन गरिएको उनले बताए।

कार्यक्रममा हुंकार मधेशका आर्थिक विभाग प्रमुख तथा केन्द्रीय अभियन्ता सच्चिदानन्द झाले मधेशी समुदाय आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म र जातीय विभेदको पूर्ण अन्त्य नभएसम्म मधेशको मुक्ति सम्भव नहुने धारणा व्यक्त गरे।

भेलामा चन्द्रानन्द ज्योतिष, मनोज कुमार, बैजु स्वामी, सम्बोध कुमार, भोगेन्द्र मण्डल, डा. विशेष यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए।

हुंकार मधेशले आगामी मंसिरको पहिलो सातादेखि मेचीदेखि महाकालीसम्म ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। उक्त यात्रामार्फत संगठन विस्तार, जनसम्पर्क तथा मधेशका राजनीतिक, सामाजिक र आर्थिक सवालमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ