फेटा घटनाप्रति पूर्वमुख्यमन्त्री सोनलको दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र दोषीलाई कारबाहीको माग

समाचार

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा आज भएको घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले दुःख व्यक्त गरेका छन्। उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न तथा गोली लागेर घाइते भएका आदित्य पासवानसहित अन्य घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सोनलले फेटामा भएको घटना अत्यन्त दुःखद भएको बताएका छन्। उनले घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सोनलले गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानको उच्चस्तरीय स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, घटनामा घाइते भएका अन्य व्यक्तिको पनि सरकारले निःशुल्क उपचार गर्नुपर्ने उनको माग छ।

उनले जनप्रतिनिधिहरूलाई घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन्।

त्यसैगरी, स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई घटनाको अवस्थामाथि निगरानी राख्दै सामाजिक सद्भाव र शान्ति व्यवस्था कायम गर्न भूमिका खेल्न उनले आग्रह गरेका छन्।

अन्त्यमा सोनलले आदित्य पासवानलगायत घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान् पशुपतिनाथसँग प्रार्थना गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ