फेटामा अधुरो स्वास्थ्य चौकी विवादमा युवकमाथि गोली, कारबाहीको माग

समाचार

बारा । बाराको फेटा गाउँपालिका–३ स्थित फेटा गाउँमा अधुरो अवस्थामा रहेको नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले गरेको विरोधका क्रममा प्रहरीले गोली चलाएको घटनाप्रति राष्ट्रिय एकता दल, बाराले गम्भीर आपत्ति जनाएको छ। घटनामा गोली लागेर स्थानीय युवा आदित्य पासवान गम्भीर घाइते भएको भन्दै दलले दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

राष्ट्रिय एकता दल, बाराका जिल्ला अध्यक्ष अखिलेश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा स्वास्थ्य चौकी भवनको निर्माण गुणस्तर र अपूर्ण संरचनाबारे स्थानीयवासीले उठाएका प्रश्नलाई बेवास्ता गर्दै बलपूर्वक उद्घाटन गर्न खोज्नु निन्दनीय भएको उल्लेख गरिएको छ।

सार्वजनिक संरचनाको गुणस्तर र निर्माण सम्पन्नताबारे प्रश्न उठाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको जनाउँदै दलले जनताको आवाज दबाउन गोली र लाठीको सहारा लिनु प्रशासनको गैरजिम्मेवार तथा दमनकारी कार्यशैली भएको आरोप लगाएको छ।

दलले गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको छ। साथै, शान्तिपूर्ण विरोधमा रहेका नागरिकमाथि गोली चलाउन आदेश दिने र घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने जनाएको छ।

त्यसैगरी, अधुरो अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको निष्पक्ष प्राविधिक छानबिन गरी निर्माणको गुणस्तर सुनिश्चित गर्न र सम्पूर्ण काम सम्पन्न भएपछि मात्र सञ्चालनमा ल्याउन दलले माग गरेको छ।

स्थानीय जनताको जायज माग र आवाजलाई बल प्रयोग गरेर दबाउने प्रयास तत्काल बन्द गर्न प्रशासनलाई चेतावनी दिँदै दलले माग सम्बोधन नभए स्थानीयवासीको साथमा रहेर कडा आन्दोलनमा उत्रिने जनाएको छ।

जिल्ला अध्यक्ष कुशवाहाले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्तिपूर्ण विरोधमाथि बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ