कलैया । बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने राजनीतिक र सामाजिक दिशाबारे व्यापक छलफल गरिएको थियो। अधिकांश वक्ताहरूले पुराना मधेशी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै मधेशको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेशका एजेण्डा सम्बोधन नगरे मधेशी युवाले अरूको मुख नताकी आफैँ नेतृत्व लिनुपर्ने बताए। उनले मधेशका मुद्दा स्थापित गर्न युवा पुस्ता अग्रसर हुनुपर्ने धारणा राखे।
मधेश प्रदेशका पूर्वसांसद विक्की यादवले मधेशको विकल्प मधेश नै भएको उल्लेख गर्दै ओली सरकार र वर्तमान बालेन सरकारबाट मधेशले पाउने परिणाममा खासै फरक नरहेको टिप्पणी गरे। उनले मधेशी युवाले आ–आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र मधेशी राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताए।
त्यस्तै, सामाजिक अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिमा परिवर्तन आएको र पुराना राजनीतिक दल तथा नेतृत्वको विश्वसनीयता कमजोर भएको बताए। मधेशका माग सम्बोधन गराउन युवाले सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले माग पूरा नभए संगठित रूपमा नयाँ पुस्ताले मधेशको नेतृत्व लिनुपर्ने धारणा राखे।
उनले मधेशी युवाले मधेशको राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न संगठित प्रयास गर्नुपर्नेमा जोड दिए।
अभियन्ता ओमप्रकाश चौधरीले मधेशलाई आधार क्षेत्र बनाएको नेपाली कांग्रेसको महाधिवेशनमा समेत मधेशी, जनजाति तथा दलित समुदायका व्यक्तिले खुला प्रतिस्पर्धामा उम्मेदवारी दिन र जित्न साहस गर्न नसकेको टिप्पणी गरे। उनले मधेशको राजनीति मधेशीले नै गर्नुपर्ने भन्दै पुराना नेताको विकल्पमा नयाँ अनुहारलाई प्रोत्साहन गर्नुपर्ने बताए।
स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको बताउँदै युवाहरूलाई राजनीतिमा अगाडि आउन आग्रह गरिन्।
सामाजिक अभियन्ता सौरभ चौगाईंले जनसंख्याका आधारमा ठूलो हिस्सा ओगटेको मधेशमा शिक्षक, चिकित्सक तथा इन्जिनियर उत्पादन भए पनि गुणस्तरीय विद्यालय, मेडिकल कलेज र इन्जिनियरिङ कलेजको अभाव रहेकोप्रति चिन्ता व्यक्त गरे। उनले नयाँ पुस्ताले नेतृत्व लिएर सामाजिक न्याय, सुशासन र विकासलाई मधेशको आगामी राजनीतिक एजेण्डा बनाउनुपर्ने बताए।
शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद परिवारका आमा–बुवा तथा अन्य सदस्यलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र चौधरी, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता, जगत कुशवाहालगायत दर्जनौँ वक्ताले मधेश आन्दोलनका क्रममा सयौँले बलिदानी दिए पनि शहीदका सपना अझै पूरा हुन नसकेको बताए।
वक्ताहरूले मधेश आन्दोलनको जगमा स्थापित संघीयता कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसप्रति मधेशी जनता सचेत हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले रोटीबेटीको सम्बन्ध रहेको भारतसँगको सीमा नाकाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले दुःख र सास्ती भोग्नुपरेको विषय पनि उठाए। राज्यका विभिन्न प्रतिबन्धले सीमावर्ती क्षेत्रको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ थियो।
त्यसैगरी, मधेश आन्दोलनका शहीदले राज्यबाट अपेक्षित सम्मान र कदर पाउन नसकेको तथा मधेश प्रदेश सरकारसमेत शहीदको बलिदानीको सम्मान गर्न असफल भएको भन्दै वक्ताहरूले असन्तुष्टि व्यक्त गरे। विगतका मधेशी दल तथा नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको उल्लेख गर्दै उनीहरूले नयाँ पुस्ताले संगठित भएर मधेशको नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा मधेशका कलाकारहरूले सांस्कृतिक प्रस्तुति तथा मधेश आन्दोलनसँग सम्बन्धित झाँकी प्रदर्शन गरेका थिए।
तपाईको प्रतिक्रिया