सर्लाही, ३ फागुन । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा कांग्रेसले प्रदर्शन जारी नै राख्ने बताएका छन् ।
सर्लाहीको बबरगंजमा आइतबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले आन्दोलन जारी राख्ने बताएका हुन् । तर कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको निर्णय नै स्वीकार्य हुने निधिले बताए ।
नेता निधिले अदालतले निर्वाचनको पक्षमा फैसला गरे पार्टीले स्वीकार गर्दै निर्वाचन तयारीमा लाग्ने तथा संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरे सशक्त भएर संसद्मा प्रस्तुत हुने बताए ।
अदालतको फैसला पर्खिन कार्यकर्ताहरुलाई उनले आग्रह गरे । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतन्त्रमा न्यालयको भूमिकामा शंका गर्ने ठाउँ हुँदैन, त्यसैले हामी अदालतको निर्णय पर्खेर बसेका छौं,’ उनले भने, ‘तपाईंहरु पनि अदालतकै फैसला पर्खिदिनुस्, जस्तो फैसला आउँछ त्यहीअनुसार हामी अगाडि बढ्ने छौं ।’
नवप्रवेशी कांग्रेसीहरुले चन्द्रनगर गाउँपालिकामा तानाशाह प्रवृत्ति लादिएको गुनासो गरेपछि नेता निधिले राणा र राजाजस्ता तानाशाह फालिएको स्मरण गराउँदै स्थानीय तहको यस्तो प्रवृत्ति परास्त गर्न सबै एकजुट भएर लड्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया