अदालतकै सेटिङमा प्रतिगमनकारी कदम चालिएको देखिन्छ : उपेन्द्र यादव

समाचार

1/28/2021

नेपालगञ्ज, १५ माघ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

अवधी पत्रकार संघ, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अदालतकै सेटिङमा प्रतिगमनकारी कदम चालिएको आशंका गरे ।

उनले भने, ‘अदालतकै सेटिङमा काम भएको जस्तो देखिन्छ। यसका विरुद्धमा सबै दल मिलेर मोर्चा बनाउनु पर्छ । ओली सरकारलाई घोक्रेठ्याक लगाउनुपर्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले संसद पुनःस्थापना र ओलीलाई पदच्यूत गरेपछि मात्रै प्रतिगमन सच्चिने बताए। उनले प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गतेको पुनरावृत्ति भएको टिप्पणी गरे ।

अध्यक्ष यादवले वैशाखमा चुनाव हुन नसक्ने दावी गरे । ‘वैशाखमा चुनाव गराउने हिसावले घोषणा भएकै होइन, यो त जालसाजीमात्रै हो,’ यादवले थपे, ‘संसद विघटनको निर्णय सच्चिएन भने मुलुक अन्यौलतामा फस्छ ।’

यादवले संघीयता र समावेशिताको खारेज गर्नका लागि असंवैधानिक कदम चालेको आरोप लगाए । पार्टीको दुई दिने प्रशिक्षणमा सहभागी हुन यादव नेपालगञ्ज आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ