अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई निशाना बनाउन सक्छन् : अमेरिका

समाचार

6/26/2020

काठमाडौं, १२ असार । अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने औल्याएको हो ।

‘भारतसँग खुला सीमा भएको र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको कार्यविधि पर्याप्त नभएको हुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्नसक्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले प्रत्येक वर्ष बिभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी त्यहाँको संसदमा प्रस्ततु गर्ने गर्छ । सो प्रतिवेदन अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले सार्वजनिक गरेका हुन् ।

‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनले भनेको छ । सो प्रतिवेदनले नेपाल अहिले सामान्यतया आतंकवादी संगठनहरुका लागि उर्वरभूमि भने नभएको प्रतिवेदनको ठहर छ ।

सो प्रतिवेदनमा नेपालको राजनीतिक हिंसाको आकार पनि सानो परिमाणमा मात्रै रहेको र ती आक्रमणहरु मुख्यरुपमा भौतिक पूर्वाधार, सरकारी कार्यालय वा राजनीतिक दलहरु वा तीनका पदाधिकारीहरुमा लक्षित रहेको उसको ठहर छ ।

‘सन् २०१९ को उपनिर्वाचनका बेला केही स्थानमा मतदातालाई धम्क्याउने र केही विषयमा राजनीतिक दबाब दिइएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी विप्लव माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि कहिलेकाँही आतंककारी गतिबिधिको साहारा लिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ