अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाललाई सर्लाही पठाइयो

समाचार

1/29/2021

सर्लाही, १६ माघ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई सर्लाही पठाइएको छ ।

उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई शुक्रबार सर्लाही पठाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि सर्लाही ल्याइएको जानकारी दिए ।

उनका अनुसार सर्लाही प्रहरीको पत्राचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध रु १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सोमध्ये उनले रु १२ करोड ६३ लाख ७२ हजार १९८ तिरिसकेको बताइएको छ ।

‘अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ’, प्रहरी उपरीक्षक राठौरले भने, ‘काठमाडौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको छ ।’

उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौँसम्म पुगेर आन्दोलनसमेत गरेका थिए । यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया सुरुवात भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ