अनियमितता लुकाउन दर्ता नम्बर नै खाली

समाचार

7/15/2021

सिरहा, ३१ असार । सिरहाको औरही गाउँपालिकाले अनियमितता ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छाडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ ।

गाउँपालिकामा हुने गरेको भ्रष्टाचार मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो ।

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय औरही पुगेका सञ्चारकर्मीहरुलाई आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेको विकास निर्माणसम्बन्धी कुनै कागजात नरहेको कर्मचारीहरुले बताए ।

किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो? भन्नेबारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन् ।

आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ ।

गाउँपालिकामा सञ्चालित थुप्रै विकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन । उक्त सूचनाहरू गाउँपालिकाको कार्यालयमा पनि नरहेको एक कर्मचारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ