अब लखनउबाटै नेपालगन्जमा हवाई इन्धन

समाचार

2/28/2021

नेपालगन्ज, १६ फागुन । नेपालगन्ज डिपोमा अब लखनउबाटै हवाई इन्धन ढुवानी गरिने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत रहेको हवाई इन्धन डिपो नेपालगन्जमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को इलाहाबाद डिपोबाट हवाई इन्धन ढुवानी गरिँदै आएको थियो ।

उक्त डिपोसम्मको दूरी नेपालगन्जस्थित भारतीय नाका रुपैडियादेखि दुईतर्फी करिब ८ सय ५० किमि पर्छ । अब भने आईओसीले लखनउको अमौसीस्थित डिपोबाटै हवाई इन्धन भर्न पाउनेछ ।

लखनउबाट ढुवानीसमेत सुरु भइसकेको छ । ‘इलाहाबाद र अमौसीको तुलनामा ढुवानी दूरी झन्डै आधा फरक पर्छ,’ इन्धन तथा हवाई इन्धन डिपो नेपालगन्जका सूचना अधिकारी अजितकुमार पोखरेलले भने, ‘दूरीमा आएको कमीसँगै ढुवानीबाट हुने खर्च पनि बचत हुन्छ ।’

निगमका अनुसार नेपालगन्जस्थित भारतीय नाका रुपैडिहादेखि लखनउको दुईतर्फी दूरी करिब ४ सय ५० किमि मात्रै पर्छ । लखनउबाट ढुवानीका लागि विगतमा पनि छलफल भएको निगमले बताएको छ । तर आपूर्तिका विषयमा आईओसीले सहमति जनाएको थिएन ।

‘इलाहाबादको विकल्पमा लखनउबाट ढुवानी गर्ने विषय करिब १५ वर्षदेखि पेन्डिङमा थियो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘पछिल्लो समय आईओसीमा भएको छलफलमा उक्त डिपोबाट ढुवानी गर्न सहमति भयो । यसले ढुवानीमा लाग्ने समयसँगै पैसाको पनि बचत हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ