अमेरिका, भारत, जापान र अष्ट्रेलियाले चिनियाँ बजार त्याग्दै

समाचार

7/29/2020

काठमाडौं, १४ साउन । विश्व फोसिल फ्यूलबाट टाढिँदै गएको अवस्थामा अब भविष्यका सबै सवारी साधनहरु नविकरणीय उर्जाबाट सञ्चालित हुने निश्चित छ ।

जलवायु परिवर्तन, वातावरणिय प्रदुषण लगायतका संकटहरुले निकट भविष्यमा यातायात क्षेत्रलाई पूर्णरुपमा विद्युतिय उर्जामा निर्भर बनाउँदै छ ।

विद्युतीय गाडीमा लिथियम आयोनको ब्याट्रीहरु प्रयोग हुन्छन्, जसको एकाधिकारमा अहिलेसम्म चीन रमाउँदै आएको छ । चीनले विश्वमै सबैभन्दा बढी लिथियम आयोन ब्याट्रीहरु उत्पादन गर्दै आएको छ ।

यद्यपी अब चीनको एकाधिकार लामो समयसम्म टिक्ने सम्भावना सकिदै जान लागेको छ । अमेरिका, भारत, जापान र अष्ट्रेलियाले अब लिथियम आयोन ब्याट्रीका लागि चीनमाथिको निर्भरतालाई कटौती गर्न थालेका छन् । त्यसका लागि चारवटै लोकतान्त्रिक मूलुकहरुले एक्लाएक्लै र संयुक्तरुपमा मिलेर काम गर्न थालेका छन् ।

चीनमा अहिले लिथियम पर्याप्त मात्रामा छ । तरपनि चीनले ब्याट्री बनाउन आवश्यक कच्चा पदार्थको विश्वव्यापी उत्पादनको ८० प्रतिशत आयात गरिरहेको छ, जुन उस्ले भविष्यकै लागि सञ्चित गरिरहेको प्रष्ट देखिन्छ । अबको १० देखि १५ वर्षभित्रमा लिथियम नै विश्वको ‘ह्वाइट पेट्रोल’ हुने कुरालाई थाहा पाएर ठूलो मात्रामा लिथियमलाई सञ्चित गरिरहेको छ ।

भारतले सन् २०१८ मै लिथियम आयोन ब्याट्रीका लागि चीनमाथिको निर्भरता हटाउने घोषणा गरेको थियो । त्यसका लागि भारतले उल्लेख्य कदम पनि चालिसकेको छ ।

यद्यपी लिथियम आयोन ब्याट्रीका लागि चाहिने ५ किसिमका कच्चा पदार्थमध्ये २ वटा भारतमा नपाइने हुँदा भारत ब्याट्री उत्पादनमा पछि परेको छ । लिथियम, कोबाल्ट, निकेल, म्यांगानिज र प्राकृतिक ग्रेफाइटमध्ये भारतमा लिथियम र कोबाल्टको अभाव छ ।

भारतले लिथियमको अभाव पूर्तीका लागि पनि कदम चालेको छ । लिथियम ट्रेंगल भनेर चिनिने दक्षिण अमेरिकी मूलुक चिली, बोलिभिया र अर्जेन्टिनासँग भारतले लिथियम आयातका लागि कुरा अघि सारेको छ ।

यसबाहेक भारतले थुप्रै लिथियम आयोन ब्याट्री उत्पादन प्लान्ट जडान समेत थालको छ । बोलिभिया सरकारसँग लिथियमको औद्योगिक विकासका लागि भारतले एमओयु सम्झौता पनि गरिसकेको छ ।

भारतले लिथियम आयोन ब्याट्री उत्पादनका लागि जापानको सुजिकी मोटर कर्पाेरेसनको जोइन्ट भेन्चर तोसिबा र डेन्सोसँग संयुक्त रुपमा गुजरातमा ब्याट्री उत्पादन प्लान्ट निमार्णका लागि सम्झौता गरिसकेको छ ।

त्यस्तै अष्ट्रेलियाको नियोमेटल्स र भारतको मणीकरण पावरले पनि भारतमा लिथियम रिफाइनेरी निर्माणको घोषणा गरेका छन् । अष्ट्रेलियाको सहकार्य भारतका लागि सहज बन्ने देखिन्छ। अष्ट्रेलिया लिथियम उत्पादन एवं भण्डारको ठूलो क्षेत्र हो ।

यसबाहेक जापान र अष्ट्रेलियाले पनि लिथियम आयोन ब्याट्री उत्पादनका लागि सहकार्य थालेका छन् । त्यस्तै अमेरिकाले पनि विभिन्न बहुराष्ट्रिय कम्पनीहरुसँग लिथियम आयोन ब्याट्री उत्पादनका लागि सम्झौता थालेको छ ।

अमेरिकाले विश्वको १७ प्रतिशत लिथियम आयोन ब्याट्रीको खपत गर्छ भने २ प्रतिशत मात्रै उत्पादन गर्नेगर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ