अम्लेखगञ्ज डिपोमा सिआइबीको चेकजाँच

समाचार

12/10/2020

बारा, २५ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अम्लेखगञ्ज डिपोमा अनुसन्धान सुरु गरेको छ ।

पेट्रोलियम पदार्थमा हुने मिसावट र चुहावट रोक्न निगमले दुई वर्षअघि टयांकरमा लकिङ प्रणाली जडान गरेको हो । तर, चालक र सहचालकले विभिन्न उपाय अपनाएर पेट्रोलियम पदार्थ चोरी गर्न थालेपछि लकिङ प्रणालीको प्रभावकारितामाथि नै प्रश्न उठेको हो ।

सिआइबीले प्रादेशिक डिपो अम्लेखगञ्जका पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरुको लकिङ र फिटिङ चेकजाँच गरेको प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख भरत रेग्मीले बताए । भारतको बरौनीबाट २० हजार लिटर डिजल÷पेट्रोल लोड गरिएको टयांकरबाट अम्लेखगञ्जमा अपलोड (खन्याउँदा) १०० देखि सवा सय लिटरसम्म कम हुने गरेको प्रमुख रेग्मीले बताए । सामान्यता अम्लेखगञ्जको तुलनामा बरौनीको तापक्रम बढी भए पनि प्रतिटयांकर सयदेखि सवा सय लिटरसम्म पेट्रोलियम पदार्थ घट्नु सामान्य नभएको उनको भनाइ छ ।

दुई साताअघि काठमाडौंको थानकोट डिपोमा चालक र सहचालकको मिलेमतोमा टयांकरभित्र अर्को छुट्टै फल्ट बटम जडान गरेर पेट्रोल चोरी गरेकोे घटना सार्वजनिक भएपछि सिआइबीको टोलीले अम्लेखगञ्जमा पनि चेकजाँच गरेको हो । टोलीले अम्लेखगञ्जमा टयांकरको लकिङ र फिटिङ हेरेको र त्यसमा कमजोरी केही नभेटिएको डिपो प्रमुख रेग्मी बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ