अलपत्र नेपालीका सहयोगी बने भारतीय नेता कापडी

समाचार

5/24/2020

काठमाडौं, ११ जेठ । भारतको उत्तराखण्डको खटिमा बजार क्षेत्रमा सर्यौँ किलोमिटर पैदल हिँडेर आएका १५० नेपाली मजदुरलाई क्वारेन्टिनमै व्यवस्थापनको माग गर्दै एक साताअघि भारतीय कंग्रेस आइका उत्तराखण्ड प्रदेश महासचिव भुवन कापडी धर्ना बसे ।

भारतको रुद्रपुर र काशीपुर क्वारेन्टिनबाट नेपालीलाई निकालिएपछि त्यसको विरोधमा महासचिव कापडी खटिमाको सञ्जय पार्क शहीद समृतिमा धर्ना बसेको केही समयमै त्यहाँको स्थानीय प्रशासनले लखेटिएकै क्वारेन्टिनमा राख्ने प्रबन्धसमेत गरेको थियो ।

खटिमा बजार र आसपासका क्षेत्रमा पैदल हिँडेर भारतको विभिन्न ठाउँबाट आएका नेपाली मजदुर र खटिमामै क्वारेन्टिनमा रहेका नेपालीलाई नेता कापडीले दैनिक खानपिनको व्यवस्था मिलाउँदै आएका छन् ।

‘यहाँको क्वारेन्टिनमा रहेका र अलपत्र परेका नेपाली मजदुरलाई मैले खाना खुवाउन थालेको आज ५० दिन भइसक्यो ।’ उनले भने, ‘उद्यमसिंहनगरमा मात्रै दुई हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् ।’ उनले नेपाल सरकार आफ्ना नागरिकलाई लैजान गम्भीर हुनुपर्ने बताए ।

उनले मानवीय नाताले आफू नेपालीहरुको व्यवस्थापनका खटिएको बताउँदै नेपालीहरु अलपत्र रहँदा धेरै तनावमा रहेको समेत जानकारी दिए । उनले नेपालीहरुको खानपिनको व्यवस्थापनका लागि आफ्नो टिम सक्रिय बनाउनुका साथै क्वारेन्टिनमा खाना वितरणमा भारतीय प्रहरीको समेत सहयोग लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ