जनकपुरधाम, २३ बैशाख । धनुषामा एक जना कोरोना भाइरसका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ । रुघाखोकी तथा ज्वरोको समस्या देखिएका ती बिरामीको उपचार नपाएर ज्यान गएको हो ।
कोरोनाजस्तै लक्षण देखिएका धनुषाको बटेश्वर गाउँपालिका– ४ मा रहँदै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो । केही दिनयता रुघाखोकी तथा ज्वरोको समस्याबाट उनी ग्रसित थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि जनकपुरधाम ल्याइएको थियो ।
प्रादेशिक अस्पताल जनकपुर तथा जनकपुरकै अन्य अस्पतालमा उपचारका लागि भर्ना गर्न लग्दा कतै बेड खाली नरहेकाले उनलाई फर्काइएको थियो ।
अन्त्यमा बटेश्वरकै एक स्थानीय क्लिनिकमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको थियो । उनको अक्सिजन अभावका कारण मृत्यु भएको बताइएको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले बिरामीलाई भर्ना नलिएको कुरो स्वीकार गरे । अस्पतालमा २६ बेडको आइसोलेसन मात्रै रहेको र ३२ वटा बिरामी आई सकेकाले थप बिरामी भर्ना गर्न सक्ने स्थिति नरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया