राजविराज, ३१ बैशाख । विभिन्न अस्पताल चहारेर भर्ना हुन नसकेपछि घरमै फर्काएर ल्याइएकी सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य जाँच र उपचार गराउन सोमबार बिराटनगरस्थित कोशी अस्पताल गएकी चिनी रोगबाट पीडित महिलाको पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमित पुष्टि भएको थियो । अवस्था सामान्य रहेकोले अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिँदै घर पठायो ।
होम आइसोलेसनमा बसेकी महिलाको स्वास्थ्य अवस्था बुधबार अचानक बिग्रिएपछि स्वास्थ्य शाखा कञ्चनरूपले सुविधाजनक अस्पतालमा लैजान रेफर ग¥यो ।
उनका परिवारका सदस्य र गाउँलेहरुले धरान, बिराटनगर र राजबिराजका अस्पतालसँग अनुनय विनय ग¥यो । अस्पतालका बेडहरु संक्रमितले भरिएको भन्दै भर्ना लिन नमान्दा संक्रमितलाई पुनः फर्काएर घरमै ल्याइयो । अस्पतालमा उपचार नपाए मृत्यु भएको परिवारका सदस्यले बताए ।
विराटनगरमा उपचाररत कञ्चनरुप–८ का ६५ वर्षीय पुरुष र काठमाडौंमा उपचाररत कञ्चनरूप नपा–१२ की ३७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य शाखा, कञ्चनरूपका सहसंयोजक डम्बरप्रसाद गुप्ताले बताए । यो समेत कञ्चनरुमा मात्र ३ दिनको अवधिमा ५ जनाको मृत्यु भइसेको छ ।
कोभिड–१९ को पहिलो लहरमा ४१ जनाको मृत्यु भएको सप्तरीमा दोस्रो लहरको १ महिना नपुग्दै २० जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्ये १८ जना निको हुँदा ६ सय ४७ जना सक्रिय संक्रमित छन् । अधिकांश घरमै आइसोलेसन छन् ।
तपाईको प्रतिक्रिया