अस्पतालहरुविरुद्ध वीरगञ्जमा प्रदर्शन

समाचार

8/9/2020

वीरगन्ज, २५ साउन । वीरगन्जका अस्पतालहरुले बिरामीलाई भर्ना नै नगरी गेटबाटै फर्काई दिने गरेपछि स्थानीयहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले नारायणी अस्पताल अगाडि प्रशासन विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले वीरगञ्जका अस्पतालहरु ज्यानमारा भएको नाराबाजी गरेका थिए ।

उनीहरुले अस्पतालहरु पैसा कमाउनको लागि मात्रै खोलिएको भन्दै महामारीको बेलामा आम जनतालाई सेवा दिनु पर्नेमा उल्टै बिरामीलाई भर्ना नै नगरेर फर्काइ दिने गरेकोले यस्ता अस्पताललाई कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

अस्पतालको लापार्वाहीका कारणले नै वीरगञ्ज छपर्कैयाका २० वर्षकी युवतीले उपचारको अभावमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले यस्तो अस्पताललाई कारवाही गर्न माग गरेका थिए ।

वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या लागातार रुपमा बढ्दै गएपछि यहाँका अस्पतालहरुले बिरामी भर्ना गर्न तथा उनीहरुको चेकजाँच गर्न समेत छोडेका छन् । हालसम्म वीरगञ्जमा उपचार नपाएर तीनजनाले ज्यान गुमाउनु परेको छ ।

जिल्ला प्रशासनले पर्साका सबै अस्पतालहरुलाई बिरामी भर्ना गर्न र छुटै आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको भए पनि त्यो हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ