असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध हाम्रो संघर्ष जारी रहन्छ : नेता झा

समाचार

1/16/2021
कपिलवस्तु, ३ माघ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताएका छन् ।
 
उनले सरकार थप अन्य कुनै गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने बताएका हुन् ।
 
शनिबार तौलिहवामा आयोजित जनप्रदर्शन तथा विरोधसभामा सम्बोधन गर्दै नेता झाले सर्वोच्च अदालत अहिले एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै सर्वोच्चमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको जिकिर गरे ।
 
‘सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।
 
प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको आरोप लगाउँदै यसलाई किमार्थ पनि आफूहरु स्वीकार गर्न नसक्ने बताए ।
 
कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको उनले बताए ।
 
उनले मुलुकमा बढेको भ्रष्टाचारी, कालोबजारी, महँगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे ।
 
जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भैरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत पुस २५,२७ र २९ गते यशअसि नौ स्थानमा विशाल सभाहरु आयोजना भइसकेको छ ।
 
सोही क्रममा शनिबार ६ ठाउँमा अर्थात् धरान, सिरहा, मलङ्वा, रौतहट, कलैया र तौलिहवामा कार्यक्रम आयोजना भएको छ ।
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ