काठमाडौं, २३ वैशाख । परराष्ट्रविद् दिनेश भट्टराईले एउटा राजनीतिक दलको आन्तरिक गतिविधिमा चीनले देखाएको चासो र सक्रियतालाई स्वाभाविक भन्न नमिल्ने बताएका छन् ।
‘यसले गर्दा प्रजातन्त्र र स्थायित्व कसका लागि भन्ने प्रश्न खडा गरेको छ,’उनले भने । बिबिसी नेपाली सेवासँगको कुराकानीमा परराष्ट्रविद् भट्टराईले यो प्रधानमन्त्रीको कुर्सीको स्थायित्व हो कि कुनै एक छिमेकीको स्थायित्व भन्ने प्रश्न गर्दै यस विषयमा जटिलता बढ्दै गएको बताए ।
नेपालकै नेताहरूकै कारण विदेशीहरूले ‘चलखेल’ गर्ने वातावरण बनेको र विगतमा यस्ता गतिविधिमा भारत मात्रै देखिने गरेको भएपनि पछिल्लो समय चीन पनि त्यही बाटोमा गएको उनको बुझाइ छ । यस्ता किसिमका विषयलाई अन्य मित्रराष्ट्रले सहज रूपमा नलिने उनको भनाइ छ ।
नेकपाको पछिल्लो केन्द्रीय सचिवालयको बैठक हेर्दा चिनियाँ सक्रियताको प्रष्ट सङ्केत देखिएको उनी बताउँछन् ।
भट्टराई भन्छन्, ‘जुन हिसाबले चीन अहिले अघि सरेर आएको छ त्यसले हामीलाई अप्ठेरोतिर धकेल्छ । हामीले यस्तो प्रवृत्ति समयमै रोक्न सकेनौँ भने भविष्यमा समस्या पर्ने पक्का छ,’उनले भने ।
तपाईको प्रतिक्रिया