अहिलेको आवश्यकता केपी ओलीको प्रतिगमनकारी कदमको खारेजी नै हो : अध्यक्ष यादव

समाचार

1/24/2021

काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको खारेजी नै अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले प्रतिगमन खारेजी भएपछि मुलुक ट्रयाकमा आउने बताए ।

‘प्रधानमन्त्री ओलीले संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारेर फेरि मुलुकलाई धकेल्ने प्रतिगमनकारी प्रयास गरेका छन् ।’ उनले भने, ‘परिवर्तनहरुलाई जोगाउने, संस्थागत गर्ने आजको ऐतिहासिक आवश्यकता हो ।’

उनले भने, ‘प्रतिगमन खारेजी भएपछि ओलीतन्त्रको अन्त्य हुन्छ र लोकतन्त्र अगाडि बढ्छ । त्यससँगसँगै संविधानलाई संशोधन गर्ने, संविधानलाई परिवर्तन गर्ने वा परिमार्जन गर्ने, संविधानमा रहेका विभेदकारी प्रावधानहरु, अस्पष्टताहरुलाई हटाउने ।’

उनले बाँकी अधिकार र परिवर्तनका लागि यसलाई जोगाएर संस्थागत गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीजीले जुन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम उठाउनु भएको छ, यो कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु हो ।’

कुनै पनि रुपमा यो प्रतिगमन अगाडि बढ्यो भने फेरि लामो समयसम्म प्राप्त भएका अधिकारका लागि लडाइं लड्नुपर्ने अवस्था आउने जिकिर गरेका छन् ।

उनले नेपालको राजनीतिलाई शासकवर्गले लुडोको खेलजस्तो बनाइदिएको टिप्पणी गरेका छन् ।

जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

‘विगतका आन्दोलनहरुमा सबभन्दा ठूलो उपलब्धि भनेकै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनु हो । नेपालमा समावेशी लोकतन्त्रको अभ्यास, धर्मनिरपेक्षता, मौलिक हक लगायतका उपलब्धिहरु यहाँसम्म त पुग्यो तर सर्पको मुखमा परेर फेरि तल झरेको छ ।’ उनले भने ।

उनले लुडोको खेलमा जस्तै माथि चढ्दै गयो तर सर्पको मुखमा पुग्नै बित्तिकै फेरि पुच्छरमा पुगिन्छ, त्यसरी अहिले भएको उनले जिकिर गरेका छन् । उनले प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार मात्रै होइन, प्रतिगमनको थालनी गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ