नेपालगन्ज, २६ जेठ । राहत प्याकेज र कर तिर्ने समय थप गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बिहिवारदेखि सुरु गरेको आन्दोलनले निरन्तरता पाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको संघले चरणबद्ध आन्दोलन शुरु गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । संघको आह्वानमा बिहान नौं बजेदेखि दश बजेसम्म उद्योगी, व्यवसायीले आफ्नो घर, प्रतिष्ठानमा सामाजिक दुरी कायम गरी राहत प्याकेज र कर तिर्ने समय थप गर्नुपर्ने विषय समेटिएका प्लेकार्ड बोकेर सरकारको ध्यानार्कषण गराए ।
संघका पदाधिकारीले बिरोध प्रदर्शनका लागि त्रिभुवनचोकस्थित संघको कार्यालयमा पुगेका थिए । प्लेकार्डमा ‘उद्योग, व्यवसाय बन्द भएको समयमा कर बुझाउन असर्मथ छौं’, ‘महामारीको समयमा कर तिर्न बाध्य नगर सरकार’,‘लकडाउन खोलेको कम्तिमा तीन महिना कर तिर्ने व्यवस्था गर’,‘आहत होइन राहत चाहियो सरकार’,‘ उद्योग, व्यवसाय बन्द, कसरी तिर्ने कर ?’ जस्ता नारा लगाएका थिए ।
व्यवसायीले प्लेकार्ड सामाजिक सन्जालमा राखेर पनि सरकारको ध्यानार्कषण गराएका थिए । अध्यक्ष मन्सुरीले उद्योगमा ताला लगाएको अवस्थामा कर तिर्न सक्ने अवस्था नभएको बताए । उनले समय थपको माग गरेका छन् । जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी अर्थमन्त्रालयले कर तिर्ने समय असार ७ गते थप गरेको छ ।
उक्त निर्णय खारेजी र निजी क्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया