नयाँ दिल्ली, २३ वैशाख । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण भारत सरकारले विदेशमा अलपत्र परेकालाई हवाई जहाज र जलसेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो ।
भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया बिहीबारदेखि सुरु हुनेछ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरूको सूची तयार गरिरहेका छन् । स्वदेश फर्काउनुुअघि सबै यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरू मात्रै स्वदेश आउन पाउनेछन् ।
भारत आइसकेपछि उनीहरूलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरूलाई उनीहरुको घर जान दिइनेछ ।
तपाईको प्रतिक्रिया