‘आयुर्वेदले मान्छेमा प्रतिरक्षा शक्तिको वृद्धि गर्छ’

समाचार

3/24/2020

० अहिले वैश्विक महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) के हो ?

— कोरोना एक खालको भाइरस हो । यो भाइरस चीनबाट देखिएको हो । कोरोना भनेको सूर्यको डल्लो जस्तो जहाँबाट तिखो–तिखो प्रकाश निस्किरहेको हुन्छ, त्यस खालको आकारलाई कोरोना भनिएको हो । यो भाइरसलाई जब इलेक्ट्रोन स्कोपबाट हेरिन्छ, यसको आकार पनि सूर्यको जस्तो देखिन्छ । यसलाई सर्टफर्ममा कोरोना भाइरस डिजिज भन्निछ । यो २०१९ को अन्तिममा पत्ता लागेकोले कोभिड–१९ नामाकरण गरिएको हो ।

० कोभिड–१९ को सुरुवाती लक्षणहरु के–के हुन ?

— यसमा धेरै खालका अध्ययन र विशेषज्ञहरुले फरक–फरक मतहरु राखेका छन् । तर, यसको तीनवटा प्राइमरी लक्षणहरु हुन्छन् । यसका लक्षणहरु १०० डिग्रीभन्दा माथि ज्वरो लाग्ने, श्वास फेर्न गाह्रो हुने र सुक्खा खोकी हुन्छ । यसका साथै नाक जाम हुने, सिंगान बग्ने, डाइरिया लाग्ने, जीउ दुख्ने पनि यसका लक्षणहरु हुन् ।

० कोभिडका विरामी फेला परे भने कुन अवस्थामा राख्नुपर्ने हुन्छ ?

— पहिला त यस्ता लक्षणहरु देखा प¥यो भने आधिकारिक ठाउँबाट जाँच गराउनुपर्ने हुन्छ । पोजिटिभ देखा परिसकेपछि आफू पनि सावधान हुनुपर्छ, उसलाई पूर्णरुपमा आइसोलेट गर्नुपर्छ । संक्रमित व्यक्तिलाई एउटा निश्चित कोठाभित्र बस्ने वातावरण बनाउनुपर्छ । करिब १४–१५ दिनसम्म संक्रमितलाई आइसोलेट ग¥यो भने विस्तारै निकै हुँदै जान्छ ।

० कोभिड–१९ लाग्न नदिन अपनाउनुपर्ने सावधानीहरु के–के छन् ?

— विश्वका विभिन्न समृद्ध मुलुकहरुमा राम्रो स्वास्थ्य प्रणाली हुँदाहुँदै पनि त्यहाँका मान्छेमा एकदमै संक्रमण फैलिएको देखिन्छ । यसबाट बच्नका लागि भीडभाडमा नजाने, हात नमिलाउने, पटक–पटक हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगायतका विधि अपनायो भने संक्रमण हुनबाट जोगिन सक्छ । यस्तै, हाछ्यु गर्दा वा खोक्दा कुहिनोको प्रयोग गर्नुपर्छ ।

० छिमेकी मुलुक चीनबाट विश्वभरि कोरोना फैलियो तर नेपालमा नआउनुको कारण के हुन सक्छ ?

— यो बडो अद्भुत कुरा हो कि चीन छिमेकीको मुलुक नेपाल हुँदाहुँदै पनि अहिलेसम्म त्यसको प्रभाव नदेखिनु । जुन बेला चीनमा संक्रमण बढिरहेको थियो, त्यो बेला चीनबाट धेरै पर्यटकहरु नेपाल आउने गरेका थिए । त्यस्तो हुँदा पनि नेपालमा संक्रमति देखिएन, यसलाई अचम्मकै कुरा मान्नुपर्छ । यो एउटा संयोग नै मान्नुपर्छ, नेपालाई पशुपतिनाथले हेरिरहनुभएको छ भन्ने कुरा भन्छन् ।

० नेपालमा जाँच गरिने प्रविधि कतिको विश्वसनीय छ ?

— नेपालको स्वास्थ्य प्रणालीलाई हेर्दा दक्षिण एसियाकै राम्रो मानिन्छ । नेपालमा भएको प्रविधिलाई हामीले विश्वास गर्नैपर्छ । त्यसमा अविश्वास गरिहाल्नुपर्ने स्थिति छैन ।

० कोरोना रोक्ने सरकारको प्रयास कस्तो छ ?

— विभिन्न मुद्दाहरुमा सरकार व्यस्त हुँदै गर्दा कोरोना विश्वभरि फैलिएको देखिन्छ । हाम्रा प्रधानमन्त्री पनि त्यो बेला अस्वस्थ्य हुनुहुन्थ्यो । त्यही बेला कोरोना विश्वमा उग्ररुप लिएको थियो । त्यही सन्दर्भमा नेपालमा व्यापक बहस चल्यो । नेपाल सरकारले सुरुका दिनमा त्यति गम्भीरताका साथ लिएको थिएन, अन्योलमै थियो । पछिल्लो समयमा राम्रै कदमहरु चालेको देखिन्छ, जुन सराहनीय छ । मान्छेमा एक खालको त्रास छ, मानसिक विचलनता छ । नेपालसँग भएको साधनस्रोतको उच्चतम् प्रयोग भएको देखिन्छ । नेपाल सरकारले पछिल्लो समय राम्रो गर्ने प्रयास गरेको छ र जनताले पनि यो कुरालाई साथ दिइरहेको छ ।

० तराई–मधेशको अवस्था कस्तो देख्नुहुन्छ ?

— तराई–मधेशमा कोरोना भाइरसबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । भारतमा तीव्रगतिमा फैलिरहेको कोरोना खुला सिमानाका कारण आउनसक्ने भन्ने त्रास छ । यसका लागि प्रदेश र संघीय सरकारले विशेष खालको योजनाहरु ल्याउन आवश्यक छ । देशका अन्य भागभन्दा पनि स्वास्थ्य सचेतनाको हिसावले तराई–मधेशको स्वास्थ्य स्थिति त्यत्रो राम्रो देखिँदैन । स्वास्थ्यमा मधेशका जनता अलिकति पछाडि परेकै छन् । त्यहाँ भएका स्वास्थ्य सेवा खासै गुणस्तरीय छैन ।

० कोभिड–१९ को आयुर्वेदिक उपचार के हुनसक्छ ?

— हाम्रो प्रतिरक्षा शक्ति कम हुँदा भाइरसहरु हाम्रो शरीरमा आक्रमण गर्न सक्छन् । आयुर्वेदमा उपचार गर्ने आफ्नै शैली र प्रविधि छन् । आयुर्वेदले उपचार गर्नुभन्दा पनि मान्छेमा प्रतिरक्षा शक्तिको वृद्धि गर्छ । अहिलेको अवस्थामा आयुर्वेदको तरिकाले उपचार गर्नु भनेको आफ्नै प्रतिरक्षा शक्तिलाई बढाउनु हो । त्यो भनेको बिहानै उठ्ने, नित्यकर्म गर्ने, करिब एक घन्टा शारिरीक व्यायाम गर्ने र योग गर्ने हो । मानसिक विक्षिप्तताको अवस्थामा योग एउटा उत्तम विधिको रुपमा लिइन्छ । खानपिनमा विशेष ध्यान दिनुपर्छ ।

० त्रासमा बाँचिरहेकाहरुलाई के सन्देश दिनुहुन्छ ?

— अहिले कोभिड–१९ को त्रासका कारण विश्वमै भयभीत भएका छन् । यसबाट आतिहाल्नुपर्ने कारण छैन । यो लागिसकेपछि तत्कालै मान्छेलाई मार्दैन । यसले केही निश्चित समयसम्म स्वास्थ्यस्थितिलाई बिगार्ने काम गर्छ । त्यो अवस्थामा हामीले यदि आफूलाई बलियो बनाउन सक्यौं भने लागेको भाइरस पनि परास्त हुनसक्छ । त्यसकारणले नआतिऔं, चिन्तित नबनौं, सजग भएर बसौं । हल्लाको पछि नलागौं, सरकारले वा आधिकारिक स्वास्थ्य संस्थाले दिएको सूचनाको आधारमा तयारी भएर बसौं । हामी अहिले संयमित र सजग भएर बसौं । एक जनाको गल्तीका कारण हजारौंहजारलाई जोखिममा पु¥याउन सक्छ । सबभन्दा महत्वपूर्ण कुरा यदि कोही व्यक्ति संक्रमित मुलुकबाट आएका छन्, यदि उसलाई लाग्छ कि संक्रमण भएको छ भने लुकेर नबसौं । तत्कालै आधिकारिक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । त्यसले आफूलाई पनि जोगाउँछ र समग्र समाज–राष्ट्रलाई जोगाउँछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ