महोत्तरी, २ असार । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार जलेश्वरस्थित जिल्ला आयुर्वेद औषधालयबाट लाखौं मूल्य बराबरको म्याद सकिएको औषधि बरामद गरेको छ ।
प्रशासकीय अधिकृत कामेश्वर यादवको नेतृत्वमा पुगेको अनुगमन टोलीले औषधालयबाट म्याद नाधेका औषधिहरु बरामद गरि जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो ।
महिला, ज्येष्ठ नागरिक, बालबालिकाहरुको लागि समेत अतिउपयोगी औषधि सेवाग्राहीलाई पाँचबर्षदेखि बितरण नै नगरि नक्कली बिल भाउचर बनाएर अनियमितता गर्दै आएको हुन सक्ने आशंकाको आधारमा अनुसन्धान समेत थालिएको छ ।
अनुगमनको क्रममा पाँचबर्ष देखि तीन महिना अगाडि म्याद नाधिएको औषधिहरु बरामद भएको हो ।
अनुगमनको क्रममा त्यहाँका कर्मचारीहरुले औषधि प्रयोग गर्न मिल्ने म्याद लेखिएको कागज च्यातेर सेवाग्राहीलाई बितरण गरिरहेको समेत पाइएको यादवले जानकारी दिए ।
औषधालयबाट १३ वटा बोरामा एक हजार भन्दा बढी बट्टामा रहेको सतावरी चूर्ण, आमलाकी चूर्ण, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्ण, उसपयान चूर्ण, त्रिफला चूर्ण, शितोपलादी चूर्ण, पंचसका चूर्णलगायतका औषधि बरामद भएको हो । उनले अनुसन्धान पश्चात् औषधि नष्ट तथा कार्यालय प्रमुखको कारवाहीका सन्दर्भमा निर्णय हुने जानकारी दिए ।
जलेश्वरस्थित जिल्ला आयुर्वेद औषधालयका प्रमुख डा. गंभीर झाले आफू १४ महिनादेखि मात्रै यस ठाउँमा कार्यरत रहेको र कर्मचारीहरुले सहयोग नगर्दा स्टोरमा रहेको पूराना म्याद नाघिएको औषधिहरु नष्ट गर्न नसकिएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया