उखु किसानको आन्दोलनमा नेकपाका प्रदेश २ अध्यक्षको ऐक्यबद्धता

समाचार

12/14/2020

काठमाडौं, २९ मंसिर । चिनी मिलबाट उखुको बक्यौता नपाएपछि आइतबारदेखि काठमाडौंकेन्द्रित पुनः आन्दोलन थालेका उखु किसानहरुको आन्दोलनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश २ कमिटीले समेत ऐक्यबद्धता जनाएको छ ।

नेकपा प्रदेश २ कमिटीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहले एक वक्तव्य जारी गरी उखु किसानहरुको आन्दोलनमा एक्यबद्धता जनाएका छन् ।

‘गत वर्ष (२०७६।९।१८) मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच भएको ५ बुंदे सम्झौताअनुसार विगत वर्षोंदेखि बाँकी रहेको चिनी उद्योगहरुबाट पाउनुपर्ने उखुको भुक्तानी हालसम्म पनि नपाएपछि किसानहरु पुनः आन्दोलित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रभु साहले वक्तव्यमा भनेका छन् ।

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि, रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको अन्नपूर्ण सुगर मिल, महालक्ष्मी सुगर मिल, नवलपरासीको लुम्बिनी सुगर मिल लगायतका मिलहरुबाट ६६ करोड़भन्दा बढी रकम उखु किसानहरुलाई भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

यसरी समग्र तराई–मधेश क्षेत्र र त्यसमा पनि मुख्यतः प्रदेश २ को प्रमुख नगदेवालीको रुपमा रहेको उखुको भुक्तानीका लागि पनि बाध्य भएर मेहनती श्रमवीर किसानहरु पटक(पटक आन्दोलित हुनुपर्ने स्थिति आफैंमा पनि दुखद एवं विडम्बनापूर्ण स्थिति हो ।

प्रभु साहले भनेका छन्, ‘तसर्थ, यस उखु किसान आन्दोलनमा मेरो पनि समर्थन एवं ऐक्यबद्धता प्रकट गर्न चाहन्छु । साथै, किसानहरुको भविष्यसंग पटक(पटक खेलवाड़को दुसहास गर्ने अपराधमा संलग्न चाटूकार उद्योगी, दलाल-विचौलिया लगायत जुसुकैलाई पनि कानूनी कार्वाहीको दायरामा ल्याउन तथा किसानहरुको सम्पूर्ण जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ