काठमाडौं, १ पुस । उखु किसानहरुको आन्दोलनमा जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ ।
चिनी मिलसँग लिनुपर्ने बक्यौताको माग गर्दै गत आइतबारदेखि नै उखु किसान संघर्ष समितिले माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना तथा प्रदर्शन कार्यक्रम गरिरहेको छ ।
विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अगुवाईमा संघले उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
यसैगरी, उखु किसानको आन्दोलनप्रति समर्थन जनाउँदै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाले उद्योगमन्त्रीको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।
डा. झाले भने, ‘उखु किसानले ९० करोड रुपैयाँ लिनुपर्ने छ तर मन्त्री लेखराज भट्ट भन्छन् कि बिचौलिया हावी भयो ।’ उनले भने ‘म मन्त्रीलाई खबरदारी गर्न चाहन्छु कि तपाइँ आफै बिचौलिया नबन्नुस् ।’
उनले मन्त्री भट्टलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन खबरदारीसमेत गरेका छन् । उनले सरकार अकर्मण्यताको पराकाष्ठा नाघिसकेको आरोपसमेत लगाए ।
विद्यार्थी संघको ऐक्यबद्धता कार्यक्रममा जसपाका सांसद प्रमोद साहसमेतको उपस्थिति रहेको थियो । उनले उखु किसानको आन्दोलनमा समर्थन जनाउँदै अविलम्ब सरकारले बाँकी बक्यौता दिलाउनुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया