उखु किसानको बक्यौता रकम उपलब्ध गराइदिन संसदीय समितिको ध्यानाकर्षण

समाचार

10/11/2020

काठमाडौं, २५ असोज । उखु किसानहरुले आफूले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराइदिन संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन् । रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउनुपर्ने रकम उपलब्ध गराइदिन किसानहरुले समिति गुहारेका हुन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरे । उखु उत्पादक संघ रौतहटले आइतबार समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाउँदै रकम उपलब्ध गराइदिन ध्यानाकर्षण गराए ।

श्रीराम सुगर मिल्सले गत साउन ११ गते सूचना प्रकाशित गरी उद्योग बन्द भएको घोषणा गरेको थियो । तर, उद्योगले किसानहरुलाई बुझाउन बाँकी रहेको रकम बुझाउने विषयमा केही बोलेको छैन । उद्योगले किसानलाई ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको संघले जनाएको छ । श्रीराम सुगर मिल्सले आर्थिक वर्ष ०७१÷७२ को १२ करोड, आर्थिक वर्ष ०७५÷७६ को २८ करोड ५० लाख र आर्थिक वर्ष ०७६÷७७ को ५० लाख रुपैयाँ बुझाउन बाँकी रहेको संघले जनाएको छ ।

किसानहरुले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैंभन्दा अगाडि पाउनुपर्ने, उद्योगका श्रमिक–कर्मचारीले पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चय कोष गरी करिब ४ करोड रुपैयाँ तथा अन्य सेवा सुविधा दसैंअगाडि पाउनुपर्ने र उद्योग पुनः सञ्‍चालन हुनुपर्ने माग गरेका छन् ।

उद्योगमा प्रत्यक्ष रोजगारी पाएका ३३० श्रमिक(कर्मचारी रहेको संघले जनाएको छ । उखु मिल बन्द हुँदा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ६ सय श्रमिक–कर्मचारी बेरोजगार भएको र हजारौं घरपरिवारको आय आर्जनको बाटो बन्द भएको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ