सर्लाही, २१ बैशाख । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ ।
भारतसँगको सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार र आइतबार गरी दुई दिनमा उच्च ज्वरो लागेर चार जनाको ज्यान गएको हो ।
मिर्जापुरका ८० वर्ष भन्दामाथिका दुई वृद्ध र ४०÷४५ वर्षका दुई पुरुषको उच्च ज्वरोका कारण ज्यान गएको नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए ।
चारजना मध्ये तीन जनाको गाउँमै र एकजनाको वीरगन्जमा उपचारको क्रममा ज्यान गएको मेयर सिंहले बताए ।
मेयर सिंहका अनुसार उच्च ज्वरो लागेर घरमै थलिएका तीनजनाको आइतबार ज्यान गएको हो । अर्का एकजनाको सोमबार वीरगन्जमा उपचारको क्रममा ज्यान गएको हो ।
नगरका विभिन्न बस्तीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका सयौंको संख्यामा बिरामीहरु घरमा बसिरहेको मेयर सिंहको भनाइ छ ।
‘उच्च ज्वरो लागेर दुई दिनमा चारजनाको ज्यान गएको छ, कोरोनाको लक्षण भएका सयौं अझै गाउँमै छन्,’ उनले भने, ‘कोरोनाको संक्रमण समुदायमा फैलिसकिएको अनुमान छ ।’
तपाईको प्रतिक्रिया