काठमाडौं, २९ माघ । नेपाल–भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच छलफल भएको छ ।
अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उद्धृत गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले लगानी विस्तार गर्न आग्रह गरे ।
परिसंघमा धेरै लगानीकर्ताहरु आबद्ध रहेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन परिसंघ तयार रहेकोसमेत उनले बताए ।
राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने उनको धारणा थियो ।
नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ ।
नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा परिसंघले राखेको छ ।
नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकाले त्यसलाई सहजीकरण गर्न परिसंघले अनुरोध गरेको छ ।
त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने तर्क परिसंघको छ ।
दूतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्यान्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकाले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए ।
यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया