उद्योग मन्त्री यादवद्वारा सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

समाचार

6/21/2021

झापा, ७ असार । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गरेका छन् ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना भएको बताए ।

उनले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले शुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताए । परियोजना निर्माणका लागि भारतीय मूल्य रु सात अर्ब दुई करोड लागत लाग्ने उनले बताए ।

मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमीनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ