काठमाडौं, १ जेठ । संविधान संशोधन होइन पुनर्लेखन, संविधान संशोधन नभएसम्म चुनावमा नजाने, संशोधन नभएसम्म सरकारमा नजाने लगायतका अभिव्यक्तिहरु दिँदै उपेन्द्रले बारम्बार मधेशको मुद्दासँग खेलवाड गर्दै आएका छन् ।
यही केपी ओली नेतृत्वको सरकारमा दुईबुँदे सहमति गरी उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाए । सो अवधिमा उनले आफूले सरकारसँग गरेको सम्झौताबारे कहिल्यै पनि चुँसम्म बोलेनन्, विदेश यात्रालाई नै प्राथमिकता दिए ।
एक वर्षभन्दा बढी समय ओली सरकारमा बिताएका उपेन्द्रले संविधान संशोधन वा मधेशको मागहरु सम्बोधनका लागि कहिल्यै पनि पहल वा आवाजसम्म उठाएनन् ।
तत्काली समाजवादी पार्टीकै प्रभावशाली नेता तथा सांसद विमलप्रसाद श्रीवास्तव भन्छन्, ‘ओली सरकारमा उपेन्द्रले दुईबुँदे सहमति गरेर सरकारमा त गए तर कहिल्यै पनि उनले मागहरु सम्बोधनका लागि कुनै प्रयास नै गरेनन् ।’
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा उनको कामबाट मन्त्रालय वा सरकार नै सन्तुष्ट थिएनन् । बाध्य भएर प्रधानमन्त्रीले उनको मन्त्रालय हेरफेर गरे । मर्यादाक्रममा पनि तल झारिदिए पनि उनले त्यसलाई उपलब्धि नै ठाने ।
सत्ताका लागि बारम्बार मुद्दा बिर्सजन गर्दै आएका उपेन्द्र यादव अहिले पनि सत्ता प्राप्तिका लागि दिनरात गृहकार्य गर्दा पनि असफल भए । अहिलेसम्म उपेन्द्र यादव मुद्दाभन्दा पनि सत्तालाई नै प्राथमिकता दिँदै आएका छन् ।
मधेशी जनअधिकार फोरम हुँदै जसपासम्म आइपुग्दा उनको कार्यशैली हेर्दा मधेश मुद्दालाई भजाउँदै आएका छन् । मधेशको राजनीति अहिलेसम्म सही ट्रयाकमा आउन नसक्नुको मुख्य उपेन्द्र प्रवृत्ति नै रहेको मधेशी बुद्धिजीबीहरुको विश्लेषण छ ।
उपेन्द्र यादव सत्ता समर्पण र मुद्दा विसर्जनवादी रहेको विभिन्न श्रृंखलाबद्ध प्रमाणहरु छन् । क्रमशः...
तपाईको प्रतिक्रिया