उपेन्द्र–बाबुराम समूहले महन्थ–राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने

समाचार

5/23/2021

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उपेन्द्र–भट्टराई पक्षको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गर्ने पनि बैठकले चेतावनी दिएको छ । बैठकमा वर्तमान राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको थियो ।

अध्यक्ष यादवको अध्यक्षतामा सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको थियो बैठकमा अर्का अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु सहभागि थिएन ।

बैठकमा अध्यक्ष यादवले जसपाका ४० प्रतिशतभन्दा बढी सांसद ओलीको प्रतिगमनविरुद्धमा रहेको जानकारी नेताहरुलाई गराएका थिए ।

अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई विभिन्न प्रलोभनमा पारेर हस्ताक्षर गराएको कारण अन्य थुप्रै सांसद अहिले त्यसको विरोधमा गएको ब्रिफिङ बैठकमा गरेका थिए ।

सरकारका लागि कुनै पनि पक्षलाई समर्थन नगर्ने र तटस्थ बस्ने भन्दै अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई हस्ताक्षर गर्न लगाएको तर पछि त्यही हस्ताक्षरलाई ओलीलाई प्रधानमन्त्री बनाउनमा प्रयोग गरेको बैठककमा छलफल भएको थियो ।

बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको यादव पक्षको दाबी छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । गत जेठ ४ गते अध्यक्षद्वय ठाकुर र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए ।

तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ