काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव समूह आजदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको बैठकले पार्टी सत्ता गठबन्धनमा रहेको र सरकारमा जाने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको हो ।
पार्टी नेता महेन्द्र राययादवले सत्ता पक्षको रोमा बस्ने भन्दै त्यसको व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले पार्टीबारे निर्वाचन आयोगमा आइतबारदेखि हुन लागेको सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरूलाई उपस्थित हुन पनि निर्देश दिएको छ ।
त्यस्तै सरकारमा जतिसक्यो छिटो जाने र जनताको सरोकार र समस्या जोडिएका मन्त्रालय प्रधानमन्त्रीसँग माग्न अधयक्षलाई नेताहरूले बैठकमा सुझाव दिएका छन् ।
बैठकमा यसअघि ठाकुर समूहमा खुलेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र रुही नाज सहभागी भएका छन् । भने सांसदद्वय राजकिशोर यादव र नरमाया ढकालले आउन सहमति जनाएका एक सदस्यले बताए ।
३२ सदस्यीय संसदीय दलमा यसअघि ठाकुर समूहमा २० र यादव समूहमा १२ सांसद थिए । शनिबारको बैठकमा चार जना सहभागी भएका र दुई जनाले प्रतिबद्धता जनाएकाले यादव समूहमा १८ जना पुगेका छन् भने ठाकुर समूहमा सांसद संख्या घटेर १४ जनामा आइपुगेको छ ।
यसअघि यादव समूहमा यादव, डा. भट्टराईसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव इस्तेह्याक राई, प्रदीप यादव, रामबाबु यादव, रामसहाय यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, लिला सिटौला र महेन्द्र राययादव थिए ।
तपाईको प्रतिक्रिया