उपेन्द्र यादवको पत्रलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष अध्यक्ष ठाकुरको आग्रह

समाचार

5/12/2021

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित कुनै पनि पत्रलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान करिब तीन घण्टाको भेटवार्तापछि जसपा अध्यक्ष ठाकुरले यस्तो लिखित आग्रहसहितको पत्र राष्ट्रपतिसमक्ष पठाएका ठाकुरनिकट एक नेताले बताएका छन् । प्रधानमन्त्री ओलीसँगको वार्तामा वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी थिए ।

मधेशका मुद्दा सम्बोधनका विषयमा लामो भेटवार्ता भएको र जसपाले उठाएका माग सम्बोधनका लागि चाँडै आवश्यक कदम सरकारले चाल्ने सहमति भएसँगै जसपाका अध्यक्ष ठाकुरले राष्ट्रपतिको कार्यालयमा पत्र पठाएका बताइएको छ ।

जसपाका यादव र डा. बाबुराम भट्टराईले पदाधिकारी बैठकको तयारी गरेकै बेला ठाकुर र महतोले अन्य व्यक्तिद्वारा हस्ताक्षरित पत्रलाई मान्यता नदिन लिखित आग्रह गरेका ती नेताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ