जनकपुरधाम, ३० जेठ । धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पोखरीमा पाँच बालिकाहरुको डुबेर मृत्यु भएको घटनाप्रति उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले शोकसहित समवेदना प्रकट गरेका छन् ।
घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं. ३ भित्रपर्ने मुखियापट्टी मुसहरनियाको हो ।
उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा मुखियापट्टी मुसहरनियाँको लक्ष्मीपुर गाउँमा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको घटनाले आफूलाई मर्माहत तुल्याएको र यो घटना अत्यन्त दुःखद भएको उल्लेख गरिएको छ ।
शोक सन्देशमा उपप्रधानमन्त्री महतोले दुर्घटनाबारे थाह पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्यतथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री महतोले अबोध बालबालिकाको आत्माको चिर शान्तिको काम गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
मुखियापट्टि मुसहरनीया–६ लक्ष्मीपुरमा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको माछापोखरीमा नुहाउने क्रममा ५ बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया