काठमाडौं, ९ बैशाख । छिमेकी मुलुक चीनसँग सोझो व्यापार गरिरहेका नेपाली व्यापारीहरु विभिन्न वहानामा चिनियाँ पक्षबाट ठगिने, हेपिने र सास्ती व्यहोरि रहनु पर्ने क्रमको अझै अन्त्य हुन नसकेको व्यापारीहरुले गुनासो गरेका छन् ।
नेपाल–चीनबीचको दुईवटा प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानीमा चिनियाँ पक्षले आपूर्तिमा कडाइ गर्नेमात्र नभइ सामाग्री आयातामा गरिरहेको अवरोधले नेपाली व्यापारीहरु हैरान भएका छन् ।
कोरोना भाइरस संक्रमण साथै दुई देशबीचको व्यापारिक नीतिलाई आधार मान्दै चिनियाँ पक्षले नेपाली व्यवसायीहरुमाथि ‘अघोषित र एकोहोरो नाकाबन्दी’ गरिरहेको नेपाली व्यपारीहरुको भनाइ छ ।
तयारी र कच्चा सामाग्रीमा ठग्ने मात्र होइन चिनियाँ पक्षले नेपाली ब्यवसायीहरुलाई सीमा नाकामा पनि दुःख दिने गरेको गुनासो पटक पटक आइरहेको छ ।
२०७२ सालको विनाशकारी महाभूकम्प र २०७६ पुस महिनादेखि बढेको कोरोना भाइरसको महामारीको संक्रमणलाई बहाना बनाएर नेपाल–चीन सामान आयात निर्यातमा चिनियाँ पक्षले अवरोध खडा गर्दै आइरहेको व्यापारीहरु बताउने गर्छन ।
त्यतिमात्र होइन नेपालमा चीन विरोधी गतिविधि बढेको बहानामा पनि व्यापारीहरु नै निशानामा परिरहेका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड परिक्षण गर्ने र विभिन्न कानुनी प्रक्रिया पुरा गरेर मात्र सामान पठाउने भन्दै चिनियाँ सरकारले नेपाली सामानहरुमा अवरोध गरेको बताइन्छ ।
अहिले तातोपानी तथा रसुवागढी नाकाबाट मुस्किलले दैनिक १२ वटा कन्टेनर मात्रै नेपाली नाकाम भित्रिने गरेको छ । चिनियाँ व्यापारीले पठाएका तथा दैनिक उपभोग्य सामानलाई छिटो जाँचपास गरिदिने र अरु सामानलाई आउन नदिने गरेको अर्को गुनासो व्यापारीहरुको छ ।
यता, चिनियाँ एजेन्टहरुले ढुवानी भाडा समेत बढाएकाले समस्या निम्तिएको छ । चिनियाँ नाकाबाट सामान ल्याउन समस्या भएपछि भारतको कोलकोत्ता बन्दरगाहा हुँदै झन्झटिलो माध्यमबाट ब्यापारीहरुले नेपालमा सामान ल्याइरहेका छन् ।
चिनियाँ नाकामा देखिएको असहज परिस्थितिका बारेमा संघीय र प्रदेश संसदमा आवाज उठेपनि सरकारले त्यसलाई चासो नदिएको व्यापारीहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया