जनकपुरधाम, १० असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।
शनिबार विहान एक संचारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र त्यसकै आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइसकेको भएपनि समायोजनमा आलटाल गर्नु संविधान विपरित रहेको टिप्पणी गरेका छन् ।
उनले प्रदेशका आन्तरिक मामिलामन्त्रीले शुक्रबार मात्रै संघीय मन्त्रालयमा पत्र लेखी प्रहरी खटन पटनको जिम्मा दिन आग्रह गरिसकेको हुँदा उक्त अवधिमा खटन पटनको अधिकार प्रत्योजन नगरिए बाध्य भएर सर्वोच्चको संवैधानिक बेन्च जाने चेतावनी दिएका हुन् ।
गत माघ महिनामै प्रमाणीकरण भएको ऐनलाई कार्यान्वयनमा नल्याउनु संघीयता प्रतिको बेइमानी रहेको उल्लेख गर्दै उनले संघीय सरकारको रबैया केन्द्रिकृत मानसिकता रहेको टिप्पणी गरे ।
विभिन्न बहानामा संघीयतालाई नै फेल गराउने प्रयास संघीय सरकारबाट भैरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संघीयतालाई फेल गराउने खेलमा लाग्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिएका छन् ।
तपाईको प्रतिक्रिया