काठमाडौं, १२ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि आठ लाख शुल्क बढाउने निर्णय गरेकोप्रति जनता समाजवादी पार्टी नेपालनिकट विद्यार्थी संगठनले विरोध जनाएको छ ।
जसपानिकट राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निष्पक्षले शुल्क वृद्धि प्रतिगमनकारी र आम नेपालीको छोराछोरीहरुलाई शिक्षाबाट बन्चित गर्ने दुश्प्रयास रहेको भन्दै निन्दा गर्दै अबिलम्ब यो निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।
शनिबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाउन शिक्षा मन्त्रालयललाई सिफारिस गरेको थियो ।
महासचिव निस्पक्षले संविधानमा शिक्षा नागरिकको मौलिक अधिकार हो भनी लेख्ने र जनतालाई प्रत्याभूति नगराउने सरकार शैक्षिक माफियाहरुको इसारामा चलिरहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको चिकित्सा शिक्षा आयोगबाट यस्तो निर्णय आउनु निर्लज्ताको पराकाष्ठा नाघेको उनले बताएका छन् ।
हाल एमबीबीएसका लागि ४० लाख २३ हजार दुई सय ५० शुल्क निर्धारण भएको र झन् शुल्क घटाउनु पर्नेमा आयोगले आठ लाख वृद्धि गर्न सिफारिस गरेको निर्णयले मेडिकल शिक्षाबाट आम जन्समुदायको छोराछोरीलाई शिक्षाबाट बन्चित गर्ने निरंकुश शिक्षा प्रणाली लागू गर्न थालेको कार्यलाई अबिलम्ब फिर्ता नलिए देशव्यापी आन्दोलनको घोषणा गर्ने चेतावनी समेत उनले दिएका छन् ।
आयोगको उक्त निर्णय डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत भएकाले तत्काल सच्याउन सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया