काठमाडौं, २९ जेठ । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन् ।
उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकको बाटो भर्चुअल माध्यमबाट उद्घाटन गरेर कमजोर भएको केपी ओलीको सत्तालाई प्राण भरिदिएको टिप्पणी पनि गरेका छन् । पटक–पटक सीमा मिचिँदा पनि नेपालको सत्तापक्षमा भारतीय दबदबा रहने कारणले कुनै पनि सरकारले गतिलोसँग अडान लिन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हट्नुपर्ने र नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने स्पष्ट अडान राख्दै आएका छन् ।
भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दू’ मा “फर ए रिसेट इन इण्डिया नेपाल रिलेसन्स” शीर्षकमा एउटा लेख प्रकाशित गर्दै सुदले भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनापति नरवानेको आलोचना गरेका हुन् ।
उनले लेखेका छन्, ‘भारतीय सेनाका प्रमुख जनरल मनोज नरवानेले मे १५ मा गरेको नेपालले अरु कसैको इशारामा मुद्दा उठाएको हुनसक्छ भन्ने टिप्पणी संबेदनहीन थियो किनकि भारतको सेना प्रमुख नेपालको सेनाको पनि मानार्थ जनरल हो ।’
उनले सन् २०२० को अप्रिलसम्म आइपुग्दा केपी ओलीको घरेलु राजनीतिक अवस्था कमजोर भएको र कोभिड–१९ को ह्याण्डलिंग पनि अयोग्य भएकाले उनको शासनविरुद्ध निराशा बढेको अवस्थामा पार्टीभित्रबाट एक व्यक्ति एक पदको कुरा उठी एउटा पद छोड्नै पर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा ओलीको ढल्न लागेको सत्तालाई रक्षामन्त्री सिंहले सडक उद्घाटन गरिदिएर प्राण भरिदिएको उनको विश्लेषण छ । लेखमा अघिकांश ठाउँमा ओलीविरुद्ध आक्रोश व्यक्त गरिएको छ ।
सन् २०१७ को चुनावमा भारतविरोधी राष्ट्रबाद उचालेर चुनाव जितेको भन्दै सुदले सन् २०१५ को संविधान निर्माणमा दवाव दिएको र अघोषित नाकाबन्दी गरेको अरोप लागेकोले नेपाल भारतका बीच समस्या बढ्दै गएको जिकिर गरेका छन् ।
उनले अहिले नेपाल र भारतका बीचको सम्बन्ध निकै नराम्रो बनेको उल्लेख गर्दै पराम्परागत विशेष सम्बन्धलाई पुनस्थापित गर्नु पर्ने र यसका लागि भारतले उदार सहयात्री बन्नु पर्ने सल्लाह दिएका छन् ।
एक प्रसंगमा उनले चीनले राजतन्त्रको अन्त्यपछि नेपालका राजनीतिक दलहरु, नेपाली सेना र सशस्त्र प्रहरीजस्ता संस्थाहरुतर्फ ध्यान केन्द्रित गरेको आरोप पनि लगाएका छन् ।
तपाईको प्रतिक्रिया