नयाँदिल्ली, २ असार । नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी भएको बताएका छन् । सिंहले सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएकोमा समेत आश्चर्यप्रकट गरेका छन् ।
‘हामीले अहिलेको जस्तो परिस्थिति बिग्रन दिनहुन्नथ्यो । नेपालले गत नोभेम्बरमा यो विषय उठाउँदा गम्भीरतापूर्वक नलिएको देख्दा आश्चर्य लागेको छ । हामीहरुले तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपथ्र्यो र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपथ्र्यो,’ सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
सिंहले त्यसलाई भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरी बताउँदै यसको परिणामस्वरुप अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।
वार्ताका लागि पहल नगरेकोमा भारतको आलोचना गरेका सिंहले मुलुकलाई भारतसँगको दीर्घकालीन द्वन्द्वको अवस्थाको पु¥याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पु¥याएका छन् जसमा मलाई निकै दुःख लागेको छ,’ सिंहले भनेका छन् ।
साथै उनले पछिल्लो कदमले भारतलाई असर पर्छ वा पर्दैन भन्ने यकिन नभए पनि नेपालका नागरिकहरुलाई प्रतिकूल हुने गरी असर पर्ने हो कि भन्नेमा आफू चिन्तित भएको समेत उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया