सर्लाही, २८ असोज । नेपाली कांग्रेसको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध अश्रुग्यास र लाठी बर्साएको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै कांग्रेसले मलंगवामा प्रदर्शन गरेको थियो ।
हत्याको छानबिन र उजुरी लिन माग गर्दै कांग्रेसको शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको प्रतिनिधिसभा सदस्य डा.अमेरश कुमार सिंहले जनाएका छन् ।
प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेको दाबी सिंहले गरेका छन् । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार राय, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेताहरु विरोध प्रदर्शन कार्यक्रममा सहभागी थिए ।
कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ ।
रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन् । सुरुदेखि नेपाली कांग्रेसमा रहेका राम नेकपामा जान नमानेपछि उनको हत्या भएको वर्माको दाबी छ ।
यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।
प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका उसले आरोप लगाएको छ । रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२–१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरेका थिए ।
तपाईको प्रतिक्रिया