कांग्रेस हार्दा देशको यो दुर्गति : कांग्रेस उपसभापति निधि

समाचार

2/7/2021

जनकपुरधाम, २५ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेसी जनता पनि दोषी भएको टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेसका भातृ संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शनको कोण सभामा उपसभापति निधिले मधेसी जनताले कांग्रेसलाई हराएको परिणाम आज केपी शर्मा ओली जस्ता निरंकुशले आफ्नो पार्टीभित्रको विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकेलेको बताए ।

उनले हजारौँको सहादत पश्चात आएको उपलब्धी, संघीयता सबै समाप्त हुने अवस्थामा पुगेको बताए । उनले भने, ‘आज नेपाली कांग्रेस भएको भए यस्तो अवस्थाको सिर्जना हुने थिएन । हजारौँको शहादत पश्चात प्राप्त उपलब्धी संघीयता र संविधानसमेत समाप्त हुने अवस्थामा पुगिसकेको छ ।’

उपसभापति निधिले मुलुकलाई बचाउन प्रतिनिधि सभा पुनःस्थापन हुनुपर्ने बताउँदै यदि पुनःस्थापना नभए लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा जानको लागि पनि तयार रहेको बताए ।

यसअघि कांग्रेसका भातृ संगठनहरुले पार्टी कार्यालयबाट आ–आफ्ना ब्यानरसहित नगरको विभिन्न चौकमा विरोध जुलुस निकालेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ