किट अभावमा वीरगञ्जस्थित नाकाका कोरोना परीक्षण रोकियो

समाचार

5/27/2021

वीरगञ्ज, १३ जेठ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए ।

उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ ।

महानगरपालिकाका मेयर विजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए ।

पिसिआर परीक्षणसमेत हुन नसकेको बताइएको छ । सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ । त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ