काठमाडौं, १२ चैत । कोलकाता नाका हुँदै हुने बाह्य मुलुकुको व्यापार सहज र सुचारु गराउन सहयोग गर्ने उद्देश्यसहित काठमाडौं–कोलकाता (केटूके) फोरम आयोजना हुने भएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघको पहलमा यस्तो कार्यक्रम आयोजनाको तयारी गरिएको हो ।
फोरम आयोजनाका सन्दर्भलाई लिएर संघले कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पोखरेलसँग अन्तरक्रिया आयोजना गरेको छ ।
कार्यक्रम नेपाल–भारत उद्योग वाणिज्य संघको सचिवालय एस अपार्टमेण्टसमा बिहीबार भएको हो ।
संघका अनुसार काठमाडौं र कोलकातामा आलोपालो आयोजना गर्ने गरी केटूके फोरमको अवधारणा अगाडि बढाइएको छ । यस फोरममा सहभागी हुने कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालय र अन्य सरोकारवालालाई समेत आह्वान गरिएको छ ।
कार्यक्रममा संघका महासचिव आरबी रौनियारले हालको नेपाल–भारत वाणिज्य सन्धि, नेपाल–भारत पारवहन सन्धि तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्ट अहिलेको विश्व व्यापारको मर्म अनुरुप मेल नखाएको भन्दै पुनर्विचार गर्न आग्रह गरे ।
उनले नेपाली व्यवसायीले नेपाल–भारत सीमावर्ती क्षेत्र बिहार, उत्तर प्रदेशलगायत स्थानमा समस्या भोगिरहेको भन्दै त्यसको निरुपण गर्न दिल्ली पुग्नु पर्ने बाध्यता रहेको गुनासो गरे ।
यी स्थानमा देखिने समस्या समाधान गर्न कोलकातास्थित नेपाली कन्सुलेट जनरलको कार्यक्षेत्र बढाएर अख्तियारी दिइनुपर्ने माग व्यवसायीले गरेका छन् ।
रेल मार्ग भई नेपाल भित्रिने कन्टेनरमा लगाइएको ईसीटीएस रेलमा आवश्यक नभई स्थलमार्ग भएर आउने सवारी साधनहरुमा लगाइनु पर्ने, भारतीय सीपी लाइनहरुको एकतर्फी मनोमानीको अन्त्य गरिनुपर्ने माग समेत छलफलमा उठेको छ ।
तपाईको प्रतिक्रिया