काठमाडौं, २६ मंसिर । नेपाल र भारत सरकारबीच हवाइ उडान सुचारी गर्ने सहमति भएको छ । अहिलेलाई दुई देशका राजधानीबीच सरकारी विमान मात्रै उडाउने सहमति भएको हो ।
यो सहमतिसँगै नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको हो । नेपाल सरकारले भारतको एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।
नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो । भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ । ‘दिल्ली र काठमाडौंबीच उडान सुरु गर्न दुवै सरकारले स्वीकृति दिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा उनी स्वयम् एयरलाइन्सलाई दिइएको छ । तालिका र टिकटका लागि सम्बन्धित एअरलाइन्सका वेबसाइट हेर्न भनिएको छ ।
अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।
यसरी यो रुटमा दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।
दूचावासका अनुसार हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हा े। सो व्यवस्था अनुसार ती उडानमा हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने छन् ।
तपाईको प्रतिक्रिया