काठमाडौं–दिल्ली उडान पुस २ देखि हुने

समाचार

12/13/2020

काठमाडौं, २८ मंसिर । कोभिड महामारीका कारण करिब ९ महिनादखि रोकिएको नेपाल–भारत व्यावसायिक उडान पुस २ देखि सञ्चालन हुने भएको छ ।

तत्काललाई काठमाडौं–दिल्ली मात्रै उडान हुनेछ । बेंगलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने खुलाइएको छैन ।

नेपालले गत बिहीबार गरेको उडानको प्रस्तावलाई स्वीकृत गरेको नोट भारतले कूटनीतिक नियोगमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतलाई पठाएको छ ।

नेपाली ध्वजावाहक नेपाल एयरलायन्स र भारतीय ध्वजावाहक एयर इन्डियाले दिनमा काठमाडौं–दिल्ली एकरएक उडान गर्न पाउने छन्  ।

चैत ९ गतेदेखि रोकिएको नियमित उडान २ सय ७१ दिनपछि खुला हुँदा भारतमा उपचारका लागि जाने बिरामी, विद्यार्थी, व्यापारीलगायतलाई राहत मिल्नेछ ।

भारतीय वायुसेवाले पुस २ गतेदेखि नै दिल्ली–काठमाडौं उडान गर्न अनुमति मागिसकेको छ । नेपाल एयरलायन्सले भारत र नेपालका हवाई निकायमा अनुमतिका लागि आवेदन दिएछ ।

काठमाडौं–दिल्लीको उडान पुस २ गतेदेखि गर्न टिकट खुला गरिसकिएको छ । दुवै देशले तोकेका यी दुई सरकारी ध्वजावाहकले भारतीय र नेपाली नागरिकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म मात्रै ल्याउने–पु¥याउने छन् ।

भारतले करिब दुई महिनाअघि नेपाललाई एयर–बबल मोडलबाट उडान सञ्चालन गर्न सकिने प्रस्ताव पठाएको थियो ।

उसको प्रस्तावलाई अघिल्लो साता मात्रै नेपाल सरकारले स्वीकृत गर्दै भारतलाई गएको बिहीबार नोट पठाएको थियो । नेपालका लागि खाडी र अन्य मुलुकले यसअघि नै उडान सञ्चालन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ