काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ । दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आइतबार विश्व हिन्दी दिवस मनाइएको छ ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र हिन्दी केन्द्रीय मिशन त्रिभुवन विश्वविद्यालयद्वारा संयुक्तरुपमा आयोजना गरिएको हिन्दी दिवस कार्यक्रम दूतावासको मिशन उप–प्रमुख नमग्या खम्पाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु गरिएको थियो ।
सो कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले स्वागत मन्तव्य दिँदै अतिथिहरुलाई स्वागत गरेका थिए ।
त्यसपछि त्रिभुवन विश्वविद्यालयको कुलगीतको सुमधुर प्रस्तुतिपछि विश्वविद्यालयको हिन्दी विभागद्वारा प्रकाशित ‘साहित्य लोक’ विमोचन गरिएको थियो ।
सोही क्रममा त्रिभुवन विश्वविद्यालयकी हिन्दी केन्द्रीय विभागकी प्रमुख डा.संजीता वर्माले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेईको कविताको रोचक प्रस्तुती गरेकी थिइन् ।
यस्तै, साहित्यकार गोपाल अश्कले ‘नेपाल में हिन्दी की दशा और दिशा’, उपप्राध्यापक डा.श्वेता दीप्तिले ‘वैश्विक स्तर पर हिंदी’ र हिन्दी केन्द्रीय विभागकी उपप्राध्यापक मञ्चला झाले ‘नेपाल में हिन्दी की आवश्यकता’, साहित्यकार डा.रामदयाल राकेशले ‘हिन्दी के विश्वव्यापी प्रचार प्रसार’ माथि धेरै नै सारगर्भित व्याख्यान दिएका थिए ।
यसैगरी, विनोद कुमार विश्वकर्मा ‘विमल’ ले ‘त्रिभुवन विश्वविद्यालय में साहित्य और हिन्दी भाषा शिक्षण’ विषयमाथि आफ्नो विचार व्यक्त गरेका थिए ।
विश्वविद्यालयको प्रतिभागीहरु रेखा यादव, संगीता ठाकुर, अंशु झा, रुचि राणा, रुपम पाठक, स्मृति श्रीवास्तव, मौसमी सिंह, मधु कुमारी, पुनम झा, डिल्लीराम शर्मा र वीणा सिन्हाले प्रेम, सहयोग, त्याग, भाषाको महत्व आदि विषयमाथि आधारित कविताहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि मिशन उप–प्रमुख नमग्या खम्पाले सम्बोधन गर्दै भारतीय राजदूतावासको तर्फबाट शुभकामना व्यक्त गर्दै भनिन्, ‘विश्व मानचित्रमा हिन्दीको प्रचार–प्रसारको दृष्टिबाट सन् २००६ देखि प्रत्येक वर्ष १० जनवरीको दिन भारत सरकारको विदेश मन्त्रालय र विदेशस्थित सबै भारतीय राजदूत आवासले विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा हिन्दी दिवसको आयोजना गर्दै आएको छ ।’
उनले हिन्दीलाई विश्व भाषाको रुपमा प्रतिस्थापित गर्न अनवरत आफ्नो भूमिका निर्वाह गरिरन अपेक्षासमेत व्यक्त गरिन् ।
कार्यक्रमको उद्घोषण त्रिभुवन विश्वविदालयकी पूर्वछात्रा मधु कुमारीले गरेकी थिइन् । कविता पाठको मञ्च सञ्चालन केन्द्रीय विद्यालयकी छात्रा ईशा अग्रवालले गरेकी थिइन् ।
कविता पाठ प्रतियोगितामा प्राथमिक वर्गमा प्रथम श्रीविद्या, द्वितीय श्रीआना र तृतीय भाविक शर्मा भएकी थिइन् ।
माध्यम वर्गमा प्रथम रुद्राक्ष झा, द्वितीय शान्तनु मजूमदार र तृतीय एकाग्रता र उच्चतर माध्यमिक वर्गमा प्रथम तेनजिंग भुटिया, द्वितीय अवन्ति प्रकाश र तृतीय सियना चंबयाल भएका थिए ।
प्रतियोगीहरुको कविता वाचनको मूल्यांकन त्रिभुवन विश्वविद्यालयका सहायक अध्यापक विनोद कुमार विश्वकर्मा, मौसमी तिवारी र केन्द्रीय विद्यालयका स्नातकोत्तर शिक्षक लक्ष्मी प्रसाद चौधरीले गरेका थिए ।
विजेता प्रतियोगीहरुलाई स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्मा र विशिष्ट अतिथि केन्द्रीय विद्यालयका प्राचार्य एपी विनोद कुमारले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
राजदूतावासको प्रेस, सूचना एवं संस्कृति विभागका प्रथम सचिव नवीन कुमारले सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले कार्यक्रम समापनको घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया