काठमाडौं–रक्सौल रेलमार्गको डीपीआरमा दुई हप्ताभित्र हस्ताक्षर हुने

समाचार

10/5/2020

काठमाडौं, १९ असोज । सङ्घीय राजधानी काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि नेपाल र भारतबीच दुई हप्ताभित्र सम्झौता हुने भएको छ ।

उक्त कार्य अघि बढाउन भारतले पठाएको सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालय हुँदै विभिन्न सरोकारवाला निकायमा पठाइ सकिएको छ । ती निकायले मस्यौदा अध्ययन गरेलगत्तै दुई देशबीच हस्ताक्षर हुनेछ । भारतले उक्त कार्यका लागि बजेट छुट्टाएर परामर्शदाता पनि तोकिसकेको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए ।

तुलनात्मक रूपमा नयाँ प्रविधि अनि गति पनि छिटो हुने हुँदा धेरै देशमा स्टयान्डर्ड गेज नै प्रयोग हुने गरेको विज्ञहरू बताउँछन् । राजधानीलाई भारतसँग जोड्ने उक्त रेलमार्ग स्टयान्डर्ड गेजमा बनाउने नेपालको चाहना छ । तर भारतमा भने धेरैतिर ब्रोडगेज प्रयोगमा भएकाले उनीहरूले त्यही प्रविधिमा जोड दिएका हुन ।

‘रेल प्रविधि धेरै अघि बढिसकेको छ । भारत भने अहिले पनि पुरानै प्रविधि छ । उनीहरू ब्रोडगेजमै छन् । हामीले परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो रेलमार्ग ब्रोडगेजमा नगर्दिनूस् भन्दा उहाँहरूले मान्नुभएन । अहिलेको मस्यौदा ब्रोडगेजकै छ,’ महानिर्देशक मिश्रले भने ।

गत वर्ष नै प्रस्तावित रेलमार्गको लागत दुई अर्ब अमेरिकी डलरभन्दा बढी पर्ने भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले देखाएको थियो । उक्त प्रतिवेदनमा रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक मार्ग प्रस्ताव गरिएको थियो ।

प्रतिवेदनका अनुसार मार्गको लम्बाइ र भौगोलिक स्थितिका आधारमा गत सेप्टेम्बर महिनाको विनिमय दरअनुसार निर्माणको लागत २.६६ खर्बदेखि ३.१७ खर्ब रुपैयाँ पर्ने एउटा अध्ययनमा उल्लेख छ ।

ती चार विकल्पमध्ये सबैभन्दा उचित करिब १३६ किलोमिटर लम्बाइ भएको चौथो विकल्पमा अघि बढ्नेगरी अध्ययन अघि बढाउन लागिएको हो । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ