काठमाडौं, २७ भाद्र । काठमाडौ–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयार भएको छ । एक पत्र लेखेर भारतले रेलमार्गको डीपीआरको काम अघि बढाउने इच्छा देखाएको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालसँग औपचारिक समझदारी हुनुअगावै भारतीय टोली डीपीआर तयार गर्ने काम अघि बढाउन नेपाल आउन तयार भएको छ ।
तर, अहिले नेपालमा सीमा नाकाबाट आवात जावत बन्द छ । त्यसैकारण विभागले कुन काम कसरी अघि बढाउने भनेर औपचारिक ढाचाँमा भारतलाई विवरण पठाउन आग्रह गरेको छ ।
भारतले औपचारिक ढाचाँमा आउनेहरुको नामवलीसहित विभिन्न विवरण पठाएपछि उनीहरुलाई नेपाल आएर काम गर्न अनुमति दिने तयारी छ ।
रेलमार्गको डीपीआरको लागि भारतले आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् ।
नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले औपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी भएको छैन । महानिर्देशक मिश्रका अनुसार डीपीआरको काम थालिएपछि दुई पक्षबीच औपचारिक समझदारीको पहल हुनेछ ।
भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क गर्दा पनि द्विपक्षीय समझदारी पर्खेको थिएन । नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल(काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तर, त्यो भन्दा अगाडि नै फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्ट्यान्टहरु नेपाल आएका थिए ।
यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल(काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ ।
यो प्रतिवेदन प्रारम्भिक मात्रै भएकाले रेलमार्गको अनुमानित लागतको विषय रिपोर्टमा समावेश छैन । प्रस्तावित रेलमार्गमा करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने भएको छ ।
४० किलोमिटर सुरुङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना(ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ ।
रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ ।
तपाईको प्रतिक्रिया