काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको निर्माण हुने दुई देशबीच डिपिआर समझदारीको तयारी

समाचार

3/30/2021

काठमाडौं, १७ चैत । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ ।

विस्तृत अध्ययनको काम अघि बढाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच औपचारिक मिति तय गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले जानकारी दिए । समझदारीपत्रमा हस्ताक्षरपछि भारतीय पक्षले डिपिआर अध्ययनको थालनी गर्नेछ ।

हालसम्म समझदारी नहुँदा अध्ययन थाल्न कठिनाइ भएको भन्दै भारतीय पक्षले चाँडो वातावरण तयार गर्न नेपाल सरकारलाई आग्रह गर्दै आइरहेको छ ।

यसअघि २५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीपत्रलाई स्वीकृत गरी हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरिसकेको छ । यस निर्णयसँगै दुई देशका अधिकारीबीच हस्ताक्षर गर्ने बाटो खुलेको हो ।

भारतीय पक्षले आफ्नो सबै रेल प्रणाली ब्रोडगेजको भएकाले काठमाडौं जोड्ने अन्तरदेशीय रेलमार्गलाई पनि सोही प्रणालीको निर्माण गर्ने अडान राखेको थियो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली उच्च अधिकारीसमक्ष ब्रोडगेजमा बनाउने भनिसकेकाले त्यसलाई नै सदर गर्न नेपाली पक्षलाई मनाएको हो ।

भारतीय पक्षले ब्रोडगेजमा नै आफ्नो विशिष्टता रहेको भन्दै अघि बढाउनुपर्ने अडान राखेको थियो ।

दुई देशका अधिकारीहरूबीच भर्चुअल माध्यममार्फत भएको छलफलमा स्ट्यान्डर्ड गेज राख्न नेपाली पक्षले जोड दिएको थियो । अन्तिममा ब्रोडगेजमा नै रेलमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ