कपिलवस्तु, ६ कात्तिक । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर सिंहमा बुधबार कोरोना संक्रमित पुष्टि भएको कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक साताअघि उनीसहित नगरपालिकाका १८ जना कर्मचारीहरुको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । जसमा सबै जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।
मेयर सिंहकी श्रीमती र छोरा कोरोन संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । मेयर सिंहले आफू जनतासंग प्रत्यक्ष सम्पर्कमा आई काम गर्नेक्रममा कोरोना संक्रमित भएको बताए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए । नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक, कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का वडा सचिव समेत कोरोना संक्रमित भएका छन् ।
यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित निग्लीहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् । कपिलवस्तु नगरपालिकाका मेयरसहित १८ जना नै कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कार्तिक १५ गतेसम्मका लागि बन्द गरिएको छ ।
यस्तै निग्हिवा स्वास्थ्य चौकी समेत बन्द गरिएका मेयर सिंहले बताए । जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगत अनुसार बुधबार कपिलवस्तुमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा १५ सय ३६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये अहिले डेढ सय बढी सक्रिय संक्रमित छन् भने १३ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया